काठमाण्डाै । अर्नब चक्रवातको प्रभावले आज र भोलि देशका पूर्वी तथा मध्य क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना छ । वर्षाका कारण विभिन्न नदी तथा खोलामा बाढी आउनुका साथै पहाडी र तराईका क्षेत्रमा डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी तथा आसपासका क्षेत्रमा पानीको सतह उल्लेख्य बढ्ने अनुमान छ । भोलि पनि यी नदीका जलाधार क्षेत्रमा वर्षा हुने र केही ठाउँमा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ । पर्सिदेखि भने वर्षा कम हुने भएकाले बाढीको जोखिम पनि घट्ने अनुमान छ ।
यस्तै कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिमसमेत रहेकाले नदी आसपासका बासिन्दा तथा यात्रा गर्नेहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
यस्तै केही राजमार्गहरूमा पहिरो र बाढीको जोखिम रहेकोले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले पहाडी तथा भिरालो ठाउँ भएका राजमार्ग खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने र सडक भासिने सम्भावना रहेकोले नदी किनारका सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
विशेषगरी नारायणगढ–मुग्लिन सडक खण्ड, कोशी तथा सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो जाने क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग र बागमती जलाधार क्षेत्रसँग जोडिएका सडक खण्डमा जोखिम बढी रहेकोले यी सडकमा यात्रा गर्दा सावधानी अपनाउन केन्द्रको आग्रह छ ।
सानाठूला खहरे खोला तथा कल्भर्टमा पानीको बहाव बढ्दा सडक क्षति हुन सक्ने भन्दै जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा सतर्कता अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवातको कारण पूर्वी नेपालबाट हिजोदेखि शुरू भएको वर्षा र हिमपात देशैभर फैलिएको छ । पानी पर्ने क्रम आज दिउँसोदेखि झनै बढ्ने र केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्