Ads3

कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा धेरैले घट्यो

कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा धेरैले घट्यो

अमेरिका–इरान युद्ध अन्त्य गर्ने वार्तामा प्रगति हुने आशाका बीच अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ । युद्ध अन्त्य गर्ने सम्झौताका विषयमा इरानी र कतारी अधिकारीहरूबीच भएको वार्ताले मध्यपूर्वमा आपूर्ति अवरोधहरू कम हुन सक्ने आशा जगाएपछि तेलको मूल्यमा गिरावट आएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ब्रेन्ट क्रुड तेलको मूल्य ४.२ प्रतिशतले घटेर प्रतिब्यारेल १०८.६४ डलरमा झरेको छ । भोलि हुने अमेरिकी मध्यावधि चुनावपछि अमेरिका–इरान द्वन्द्व पुनः चर्कन सक्ने चिन्ताका बीच ब्रेन्ट क्रुडको मूल्य गएको अक्टोबरको अन्त्यमा ६ महिनायताकै उच्च विन्दुमा पुगेको थियो ।

हर्मुज जलमार्ग भएर जाने तेल ट्याङ्करहरूमा पछिल्ला आक्रमणका घटना बढेपछि इरानी र कतारी अधिकारीहरूबीच वार्ता भएका हुन् । यद्यपि केही प्रमुख निर्यातकर्ताहरूबाट हुने ढुवानीमा वृद्धि भइरहेका सङ्केतहरू पनि देखिएका खबरमा उल्लेख छ ।

इरान निकट यमनी हुथी विद्रोहीहरूले साउदी अरबको ऊर्जा पूर्वाधारमा आक्रमण गरे पनि सेप्टेम्बरको तुलनामा अक्टोबर महिनामा साउदी अरबले कच्चा तेलको निर्यात बढाएको छ ।

गएको फेब्रुअरी महिनाको अन्त्यमा इरान युद्ध शुरू भएसँगै तेलको मौज्दात घटेको छ । अबुधाबीको सरकारी स्वामित्वको तेल कम्पनी ‘एडनोक’ का प्रमुख कार्यकारी अधिकृतका अनुसार युद्धका कारण हर्मुज जलमार्ग भएर हुने ढुवानीमा अवरोध आउँदा विश्वभरका भण्डारबाट झन्डै १ अर्ब ब्यारेल तेल खपत भइसकेको छ ।

केही विश्लेषकहरूका अनुसार तेलको मूल्य अझ बढ्न सक्छ । आपूर्तिसम्बन्धी जोखिम बढेका कारण ’गोल्डम्यान स्याक्स’ ले तेलको मूल्यसम्बन्धी आफ्नो प्रक्षेपण बढाएको छ ।

संस्थाका अनुसार यदि खाडी क्षेत्रको तेल उत्पादन सन् २०२५ को औसत स्तरभन्दा दैनिक ३५ लाख ब्यारेल कम रहिरह्यो भने सन् २०२७ सम्ममा कच्चा तेलको मूल्य प्रतिब्यारेल १४० डलरसम्म पुग्न सक्छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्