संखुवासभामा सुन चोरी गर्ने र चोरीको सुन किन्ने तीनजना पक्राउ

संखुवासभामा सुन चोरी गर्ने र चोरीको सुन किन्ने तीनजना पक्राउ परेका छन्। खाँदबारी नगरपालिका– ६ पाङ्ठाका १९ वर्षीय विकास भन्ने अनिश विष्टसहित खाँदबारी नगरपालिका– ३ मानेभञ्ज्याङका ३७ वर्षीय रविन विश्वकर्मा र मोरङ, सुन्दरहरैँचा नगरपालिका– ३ गछियाका ३८ वर्षीय महेन्द्रकुमार थापा शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

उनका अनुसार विष्ट गत ९ साउनमा खाँदबारी– ७, बेलडाँडास्थित एक घरमा प्रवेश गरी सुनको तलहरी, ब्रासलेट र मोबाइललगायतका धनमाल चोरी गरी फरार भएका थिए। उनले सो सुनका गहना रविन विश्वकर्मालाई २१ हजार ६ सय रुपैयाँमा बेचेका थिए भने सोही सुन मोरङको गछियामा रोनिस ज्वेलर्सका सञ्चालक महेन्द्रकुमार थापालाई ३५ हजार ६ सय रुपैयाँमा बेचेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले विष्टलाई पक्राउ गरेपछि सबै घटनाबारे जानकारी भएको हो। विष्टलाई प्रहरीले गत १० साउनमा धनकुटाको पाख्रिबासबाट पक्राउ गरेको थियो। विष्टको बयानको आधारमा अन्यलाई अनुसन्धानपछि मात्रै पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ गरिएका तीनैजना प्रतिवादीमाथि जिल्ला अदालतबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search