प्रकृतिको पूजा गरी आज उभौली पर्व मनाइँदै

काठमाण्डौ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ । किरात राई समुदायमा बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा गर्ने परम्परा छ । यो बेला गर्मी बढ्ने भएकाले किरात राई समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने विश्वास गरिन्छ । यस पर्वको अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । किरात समुदायका विभिन्न सम्प्रदायकाबीच साकेला नाच पनि नाचिन्छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । किरात समुदायमा पनि एकथरिले उभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मंसिर शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।

यो पर्व किरात राई समुदायको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ । उभौली पर्व, बुद्ध जयन्ती तथा श्रमिक दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search