पहिरोले खाँदबारीका आठ घर उच्च जोखिममा

संखुवासभाको खाँदबारी नगरपालिका- ५ रमितेमा आठ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र पहिरो भएको ठाउँमा दुई वटा ठूला ढुंगा रहेकाले पहिरोसँगै सो ढुङ्गा खस्ने खतरा बढेको छ।

स्थानीय रामबहादुर गुरुङले लगातार बर्षा भइरहेकाले पहिरो जुनसुकै समय खस्न सक्ने खतरा रहेको बताए। उनले पहिरोका कारण रातमा निन्द्रा नलाग्ने गरेको गुनासो गर्दै स्थानीय सरकारले ढुङगा हटाउन सहयोग गर्नुपर्ने बताए।

रमिते गाउँमा कोसी राजमार्गको गगनेदेखि मोटर बाटो लगिएको छ। एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पु¥याइएको छ। गाउँमाथिबाट ट्रयाक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएको माटो धस्सिएर पहिरोको खतरा बढेको स्थानीयहरु बताउँछन्।

केही बर्ष अघिदेखि गाउँ पहिरोको जोखिममा छ। बर्खाको समयमा सडक चिरा परी जमिन धस्सिनुका साथै ढुङ्गा पल्टिएर घरहरु किच्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङ बताउँछन्। गत बर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयास गरी तारजाली लगाइएको थियो।

गाउँमा पहिरोको जोखिम बढेको खवर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर श्रेष्ठ बज्राचार्य, खाँदबारी ५ का वडाध्यक्ष टंकबहादुर घिमिरे, वडा सदस्य टिकाराम गुरुङ र खाँदबारी ४ का कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङलगायतले स्थलगत अवलोकन गरेका छन्। पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् ब्यबस्थापन कोषबाट रकम बिनियोजन गरी तारजालीसहित ढुङ्गा फुटाउने आश्वासन दिए।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search