तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा कोशेली घर उत्घाटन

संखुवासभा । जिल्लाको एकमात्रै तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा कोशेली घर स्थापना गरि संचालनमा ल्याएको छ ।

खाँदबारी नगरपालिकाद्वारा तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा कोशेली घर स्थापना गरि संचालनमा ल्याएको हो । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको विमानस्थलमा सुचना केन्द्र तथा कोशेली घर संचालन गरेपछि जिल्लाका बारेमा सोही सूचना केन्द्रबाट सुचना प्राप्त गरिने र संखुवासभाका स्थानीय उत्पादनहरु त्यही पाइने ब्यबस्थापन गरिने उद्धेश्यले सूचना केन्द्र तथा कोशेली घर स्थापना गरि संचालनमा ल्याइएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए ।

हवाई मार्गबाट संखुवासभा जिल्ला प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटक आगन्तुक पाहुनाहरुलाई लक्षित गरि सुचना केन्द्र र कोशेली घर संचालनमा ल्याएको मेयर महेश थपलियाले बताए । ‘संखुवासभाको पहिचानको रूपमा यो जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूको तस्बिरहरू र रूट सहितको जानकारी, साँस्कृतिक तथा जातिय पहिचान झल्किने विभिन्न सामानहरु, विभिन्न महत्वपूर्ण स्थलको तस्बिरहरु, हाइड्रोपावर, बाटोघाटो, होटल रिसोर्ट लगायत आदि इत्यादि सम्बन्धी सहज रूपमा जानकारीका साथ स्थानीय उत्पादनहरु रूद्राक्षको विभिन्न सामान, अल्लोको सामान, राडीपाखी, माटाका भाँडाहरु लगायत सहज र उचित मूल्यमा उपलब्ध हुनेछन् ।’—मेयर थपलियाले भने ।

मेयर थपलियाको अग्रसरतामा विमानस्थलमा सूचना केन्द्र तथा कोसेली घर संचालनमा आएको हो । गत बर्षदेखि नै सूचना केन्द्र र कोशेली घर संचालन ल्याउन खोजेपछि यो बर्ष मात्रै संम्भव भएको हो । यो सुचना केन्द्रले जिल्लाको बारेमा संखुवासभा पहिलो पटक आउने जो कोहीलाई जानकारी दिने र यहाँका स्थानीय उत्पादनहरू खरिद गरेर लैजान पाउने ब्यबस्थापन गरिएको नगरपालिकाको भनाइ छ ।

खाँदबारी नगरपालिकाले सुचना केन्द्र तथा कोशेली घर संचालन गर्ने जिम्मेवारी मिस यु रिर्सोट पार्कका संचालक सञ्जय देवानलाई आर्थिक बर्ष २०८१ साउन देखि ०८२ असारसम्म एक बर्षका लागि जिम्मेवारी दिइएको छ । खाँदबारी नगरपालिका र मिस यु रिर्सोट पार्कसँग एकबर्षका लागि संम्झौता गरिएको र आवश्यकता अनुसार थप हुने नगरपालिकाको भनाइ छ ।

मिस यु पार्कका संचालक सञ्जय देवानले खाँदबारी नगरपालिकासँग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै धन्यवाद दिए । उनले जिल्लाको पर्यटन प्रबद्र्धन र पहिचान झल्कने सामानहरू राखिने बताए ।

 

तुम्लिङटार विमानस्थलमा बुद्व एयरलाइन्सको एटिआर–७२ सिटे जहाजले दैनिक उडान भर्दै आएको छ । कार्तिक देखि बैशाख सम्म आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागन बाक्लो हुने गर्दछ भने अन्य समयमा समेत यात्रुहरुको चाप नघटने गरेको जनाएको छ । विश्वको पाँचौं अग्लो मकालु हिमाल, विश्वको होचो अरूण उपत्यका, मकालु बरूण राष्ट्रिय निकुञ्ज र गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले क्षेत्र भ्रमणका लागि पर्यटकहरू आउने गर्दछन् । संखुवासभाका साथै भोजपुरका आधा भागमा मानिसहरु तुम्लिङटारबाट नै आवातजावात गर्ने भएकाले तुम्लिङटार विमानस्थल ब्यस्त विमानस्थल मध्येमा पर्दछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search