काठमाण्डौ । नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वाभाविक रूपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेका बताउनुभएको छ ।
अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि गर्दा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेका बताउनुभएको हो । अस्वाभाविक रूपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन उहाँले माग गर्नुभयो ।
अध्यक्ष भण्डारीले कार्टेलिङ गरेर तीन सय प्रतिशतसम्म हवाई भाडा वृद्धि भएको दाबी गर्नुभयो । सामान्य समयमा ३०र३५ हजारमा पाइने हवाई टिकट अहिले एक लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो । त्रिभुवन विमानस्थलमा उडान कटौती हुँदा टिकट नपाउने समस्या भोगिरहेका श्रमिकहरूले भाडा महँगीका कारण अझ समस्यमा परेका उहाँको भनाइ छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू हवाई भाडा वृद्धि र टिकट नपाउँदा अफ्ठ्यारो अवस्थामा छन् । अध्यक्ष भण्डारीले नेपालबाट दैनिक १२ सयदेखि १५ सय र बिदामा आएर फर्किने पाँच सय गरी दैनिक दुई हजार जना विदेश जाने गरेका बताउनुभयो ।
अहिले नेपालमा पर्यटन आगमन वृद्धि हुने सिजन भएको हुँदा हवाई टिकट पाउन मुश्किल रहेको छ । हवाई भाडा वृद्धि र टिकट नपाएपछि तेस्रो देशबाट मानिसहरू विदेश जाने खतरा बढेको भण्डारीले बताउनुभयो । अचाक्ली रूपमा वृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्ने उहाँको माग छ ।











