काठमाण्डौ । विद्युत् विकास विभागले चालू आर्थिक वर्षको पहिलो चार महिनामा सातवटा जलविद्युत् आयोजनालाई निर्माणको अनुमति दिएको छ । ती अयोजनाको क्षमता ६९ दशमलव दुई मेगावाट रहेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।
यस्तै सौर्य ऊर्जातर्फ दुईवटा आयोजनालाई अनुमती दिएको छ । दुई वटाको कुल क्षमता ४० मेगावाट बराबर छ । यस्तै वायु ऊर्जातर्फ १० मेगावाट क्षमताको एउटा आयोजनालाई अनुमति दिएका महानिर्देशक सिंहले बताउनुभयो । यसरी गएको साउनदेखी कार्तिकसम्ममा एक सय १९ दमशलमव दुई मेगावाट क्षमताका १० वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् ।
विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ । यही समयमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।
यस्तै २२ वटा विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र, सातवटा विद्युत् प्रसारण लाइनको निर्माण अनुमतिपत्र प्रदान गरेको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।











