काठमाण्डौ । इरानले होर्मुज जलमार्गमा सुरक्षा निगरानी कडा बनाएको छ । इरानको सेनाका प्रवक्ता मोहम्मद अक्रमिनियाले देशको सुरक्षा बलले होर्मुजमा सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार महत्त्वपूर्ण समुद्री मार्गबाट जहाजको आवागमन इरानी निकायको समन्वय र स्वीकृतिमा आधारित रहनेछ ।
अक्रमिनियाले होर्मुज क्षेत्रको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको र वर्तमान अवस्थालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपाय अपनाइएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । साथै, इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी) र राष्ट्रिय सेनाले संयुक्त रूपमा त्यस क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्थापन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
इरानले गएको फेब्रुअरी २८ तारिखदेखि होर्मुज जलमार्ग क्षेत्रमा सुरक्षा व्यवस्थासहित नियन्त्रण कायम गर्दै आएको छ । होर्मुज जलमार्ग विश्वव्यापी ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ । त्यसैले यो क्षेत्रमा भइरहेका गतिविधिलाई विश्व समुदायले ध्यानपूर्वक चासो राख्दै आएको छ ।











