काठमाण्डौ । अस्ट्रेलियासँगको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल सकिँदा भारत बलियो अवस्थामा छ ।
दोस्रो दिनको खेल सकिँदा भारतले एक विकेट पनि नगुमाई एक सय ७२ रन बनाएको छ । भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रन बनाउँदै क्रिजमा छन् । योसँगै भारतले घरेलु टोली अस्ट्रेलियामाथि २ सय १८ रनको अग्रता लिएको छ ।
यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए ।
यस्तै अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमा अलआउट भएको थियो । खेलको दोस्रो दिनको खाना समयअघि घरेलु टोली अस्ट्रेलिया १ सय ४ रनमै समेटिएको हो । अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए ।
बोर्डर गभास्कर ट्रफी अन्तर्गत भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेस्ट शृङ्खला हिजोदेखि शुरू भएको हो । यो टेस्ट शृङ्खलाले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।











