काठमाण्डौ । अनशनरत डा. गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ । वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल हिजो धनगढी पुग्नुभएको छ । त्यस्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हिजो बेलुका डा.केसीका सहयोगी अमृत जैसीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढी पुग्दै हुनुहुन्छ । धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशन थालेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय)मा उपकुलपति र रजिस्टार नियुक्ति गैरकानुनी भएको भन्दै उहाँले बिहीबारदेखि अनशन थाल्नुभएको हो ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्बन्धी डा. केसीले उठाएका विषय प्रस्ट पार्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।











