काठमाण्डौ । केब भर्डेका गोलकिपर भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलोकोलोमा आबद्ध हुने भएका छन् । ४० वर्षीय भोजिन्हा पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि क्लबविहीन थिए । हालै सम्पन्न विश्वकप फुटबलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा उनले गरेको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो ।
कोलोकोलोका अध्यक्ष आनिबाल मोसाले भोजिन्हासँग सहमति भइसकेको पुष्टि गर्दै केही दिनभित्रै भोजिन्हा चिली पुग्ने जानकारी दिएका छन् । स्वास्थ्य परीक्षण सम्पन्न भएपछि भोजिन्हालाई औपचारिक रूपमा सार्वजनिक गर्ने क्लबको तयारी छ ।
अध्यक्ष मोसाका अनुसार विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनकै आधारमा भोजिन्हालाई टोलीमा भित्र्याउने निर्णय गरिएको हो । उनको आगमनले क्लबको खेल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । यद्यपि स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा टुङ्गिन बाँकी नै छ ।
विश्वकपमा स्पेनसँग बराबरी खेल्दै केब भर्डेले इतिहासमै पहिलो पटक अंक जोडेको थियो । नकआउट चरणमा अर्जेन्टिनासँग अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित हुँदै केब भर्डे विश्वकपबाट बाहिरिएको थियो ।
अनुभवी गोलकिपर भोजिन्हाले यसअघि स्लोभाकिया, अंगोला, मोल्डोभा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन् ।











