काठमाण्डौ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन शुरू नभएसम्म बढी बिजुली माग हुने साँझको समय ९पिक० मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ ।
हिउँदयाम शुरू भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर)जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्नेछ । चिसोका कारण यही समयमा बिजुलीको माग बढ्ने तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको बिजुली माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट आयात गर्नुपर्दछ ।
यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो ।
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुगेको थियो । आउँदो पुस १० गतेभित्र बिजुली उत्पादन शुरू गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत भइरहेको छ । बिजुली माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आउँदो चैत २ गते ९१५ मार्च २०२५० सम्म ढल्केबर–मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १ सय ३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६ सय ५४ मेगावाटसम्म बिजुली आयात अनुमति दिएको छ ।
तर पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने बिजुली आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि २०८१ चैत ३ देखि २०८२ असार १६ गते ९१६ मार्च–३० जुन २०२५० सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयमा चार घण्टा भारतबाट बिजुली आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभयो ।
घिसिङले भन्नुभयो, ‘पिक समयमा आयात अनुमति पाएका छैनौँ, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था छ ।’
गएको शुक्रवार बिहान ढल्केबर–नवलपुर १ सय ३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिँदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित भएको थियो । त्यो लाइनको मर्मत गरी सोमवार दिउँसोदेखि सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ ।
यसैगरी दर्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १ सय ३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने ठाउँमा रुख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ । त्यो लाइनको मर्मत भइरहेको छ ।











