भोजपुर । भोजपुरको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र गर्न शुरू भएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ हिजो ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो ।
दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआईपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने छ ।
२२ दशमलव ७ किलोमिटरको यो सडक ७२ करोड ९८ लाख रुपैयाँको लागतमा कालोपत्र गर्न लागिएको हो । यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्ने भएकाले नागरिकलाई आवतजावतमा सहजता हुने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
सडकले यातायात सुविधालाई मजबुत बनाएर कृषि उपजको बजारीकरणसँगै शिक्षा, स्वास्थ्य लगायतका भोजपुरको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।











