काठमाण्डौ । हिजोअस्तिको तुलनामा आजदेखि मौसममा केही सुधार भएको छ । तर नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
मौसमविद्का अनुसार अबका तीन दिन पर्सि सोमवारसम्म कतै–कतै छिटपुटबाहेक ठूलो पानी पर्ने सम्भावना छैन । आज कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा नै रहनेछ ।
काठमाण्डौमा आज मौसम बदली छ तर पानी पर्ने सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो । त्यस्तै भोलि आइतवार, पर्सि सोमवार अनि मङ्गलवार कोशी, बागमती, गण्डकी र कर्णालीका थोरै तथा सुदूरपश्चिमको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै बुधवार र बिहीवार कोशी र बागमतीको एक/दुई ठाउँ, गण्डकीको थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमको केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको कृषि मौसम सल्लाह बुलेटिनमा उल्लेख छ ।
नार्कले हरेक हप्ता शुक्रवार कृषि मौसम सल्लाह बुलेटिन सार्वजनिक गर्दै आएको छ । बुलेटिनअनुसार यसवर्ष हिउँद अवधिको अहिलेसम्म २० वटा वर्षामापन केन्द्रको औसत हेर्दा सरदरभन्दा कम वर्षा मापन भएको छ ।
यो हप्ता देशभर अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ । पर्याप्त वर्षा र हिमपात नहुँदा यसवर्षको हिउँद खडेरीमै बित्ने जोखिम छ । वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अबको हप्तादिनमा वर्षा र हिमपात भइहाले पनि औसत मापन भेट्न सक्ने अवस्था छैन ।
नेपालको मौसमी पात्रो अनुसार मङ्सिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो वर्षको हिउँद सकिन अब ६ दिन मात्रै बाँकी छ । जलवायुका विज्ञ डा.धर्मराज उप्रेतीका अनुसार सामान्यतया २५ प्रतिशत भन्दा कम पानी पर्नुलाई चरम सुक्खा भनिन्छ । तर यसवर्ष अहिलेसम्म १० दशमलव ६ प्रतिशत मात्रै हिउँदे वर्षा भएको छ ।
हिउँद सुक्खा हुँदा डढेलोका घटना बढ्दै गएका छन् । कृषि उपज र बाली उत्पादनमा किसानले ठूलो समस्या भोग्नुपरेको छ । त्यस्तै प्रदूषण बढेकाले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ ।
जलवायु परिवर्तनको असरले गर्दा केही वर्षदेखि हिउँदयाम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको जलवायुका विज्ञ डा।धर्मराज उप्रेतीले बताउनुभयो ।











