हुम्ला । साउन लाग्दै गर्दा पनि हुम्लाको सयौं हेक्टर खेतबारी अझै सुक्खै छन् । धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी नभएकाले किसान आकाशे पानीको भरमा छन् । बर्खाको भरमा धान लगाउने किसान यस वर्ष पानी नपरेपछि निराश भएका हुन् । असारभर राम्ररी पानी नपर्नु र वैकल्पिक सिँचाइ योजना पनि नहुनुले समस्या भएको हुम्लाका किसानले बताएका छन् । धेरै ठाउँमा सिँचाइका नहर भए पनि गएको वैशाखमा आएको बाढीले क्षतिग्रस्त छन् ।
पालिकाहरुले ‘कृषिमा आधुनिकीकरण’ भनेर बजेट सार्वजनिक गरेका भए पनि सोलारपम्प, डिपबोरिङ वा कुलो निर्माण र मर्मतजस्ता जीवन्त योजना अझै फाइलमा अड्किँदा किसानले खेतलाई चाहिने पानी पाउन सकेका छैनन् । यस्तै मोरङको बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ ।
लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुन सकेको छैन । सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौं बिघा जमिन सिँचाइ हुने गरेको भए पनि यस वर्ष सिँचाइ हुन नसकेको बेलबारी–४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बूू बताउनुहुन्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृतसमेत रहनुभएका सिमसार अध्येता गोविन्दप्रसाद पोखरेलका अनुसार सिमसार क्षेत्रमा पानीको मात्रा सुुक्दै जानुमा धेरै मात्रामा पानीको प्रयोग, संरचना निर्माण, जथभावी रूपमा पानीको प्रयोग, खेती प्रणालीमा अधिक मात्रामा पानीको प्रयोगजस्ता मानवीय कारणहरू हुन सक्छन् ।
यस्तै, पछिल्ला वर्ष वर्षभरि पर्ने पानी एकै समयमा पर्ने र अन्य महिनामा सुक्खा हुँदा जमिन रसाउने र पानी भण्डारण हुने क्रम घट्दा पनि पोखरी तथा जलासय क्षेत्रमा पानीको मात्रा कम हुने पोखरेलले बताउनुभयो । अनुसन्धानकर्ता पोखरेल पारस्थितीकीय प्रणालीहरूको पुनःस्थापना, पानी पुनःभरण, जलासय क्षेत्रको सुधार, पानीको दिगो उपयोगमा जोड दिए समस्या समाधान गर्न सकिने सुझाव दिनुहुन्छ ।











