गाजामा भोकमरीको अवस्था भयावह, संयुक्त राष्टसङ्घका कर्मचारी समेत भोकै

प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेका संयुक्त राष्टसङ्घको सम्बन्धित निकाय यूएनआरडब्ल्यूएले गाजामा काम गरिरहेका आफ्ना केही कर्मचारीहरू भोकको कठोर पीडामा परेको बताएको छ । संस्थाले भोकका कारण गम्भीर पीडा भोगिरहेको भन्ने मार्मिक सन्देशहरू प्राप्त भइरहेको जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजाका झन्डै दुई करोडभन्दा बढी जनसङ्ख्या अहिले गम्भीर खाद्य सङ्कटमा परेका छन् ।डाक्टर, नागरिक सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय मानवसेवा संस्थाहरूले पछिल्ला दिनहरूमा कुपोषणका घटना तीव्र रूपमा बढिरहेको जानकारी गराएका छन् ।

गाजामा अत्यावश्यक वस्तुको अत्यधिक अभावका कारण खाद्यान्नको मूल्य ४० गुणासम्म बढेको खबरमा भनिएको छ । सहायता गर्ने संस्थाहरुले गाजामा भोगिनु परिरहेको पीडा मानव निर्मित भएको र यसलाई अब रोक्नुपर्ने बताएका छन । गएको चैत १९ गते युद्धविराम वार्ता विफल भएपछि इजरायलले गाजामाथि पूर्ण नाकाबन्दी लागू गरेको थियो ।

त्यसपछि करिब दुई महिनासम्म कुनै सामग्री प्रवेश गर्न नदिइएपछि, वैशाखको अन्त्यतिर सीमित रूपमा केही गाडीहरू प्रवेश गर्न दिइएको थियो । नागरिक सुरक्षा निकायले आइतवार जानकारी दिँदै पछिल्लो हप्ताभित्र गम्भीर भोकमरी र कुपोषण’का कारण तीन नवजात शिशुहरूले ज्यान गुमाएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारदेखि आइतवारको २४ घण्टाभित्र मात्र भोककै कारण १८ जनाको ज्यान गएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search