नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थप्ने तयारी, अहिलेसम्म ६९ प्रतिशत भौतिक प्रगति

नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ ।सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिनुभयो ।

निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएका कारण म्याद थप्ने तयारी गरिएको उहाँको भनाइ छ । निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि एक वर्ष म्याद थप गर्ने आयोजनाको तयारी छ ।

आयोजना निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रो पटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको उहाँले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले नेपाल सरकारसँग २०७५ साल माघ २४ गतेदेखि काम शुरू गरी ४२ महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा काम नसकिएपछि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै सडक विस्तारको म्याद थप गर्दै आएको छ ।

अब थप हुने म्याद अन्तिम भएको सडक विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search