काठमाण्डौ । झापामा जाँड–रक्सी खाएर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेका वृद्धको ज्यान गएको छ । झापा गाउँपालिका वडा नम्बर १ लसुनामा स्थानीय बासिन्दा ६० वर्षीय जतन सोरेनलाई छिमेकीहरूले गएराति रुखमा बाँधेकामा बिहान मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गएराति साढे १० बजे सोरेन जाँड–रक्सी खाएर होहल्ला गर्दै छिमेकी महादेव टुडुको घर छेउ पुग्नुभएको थियो । घर छेउमा हल्ला गरेको भन्दै टुडुलगायतका स्थानीय बासिन्दाले मिलेर वृद्धलाई डोरीले रुखमा बाँधेका थिए । आज बिहान हेर्दा सोरेनको ज्यान गइसकेको थियो । प्रहरीले घटनामा संलग्न मृतकका छोरा २७ वर्षका अनतलाल सोरेन, छिमेकी महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ ।











