काठमाण्डाै । वायु प्रदूषण बढेसँगै काठमाण्डाै उपत्यकाका अस्पतालमा श्वासप्रश्वास तथा आँखासम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । केही हप्तादेखि प्रदूषण बढेसँगै श्वास फेर्न कठिनाइ, खोकी लाग्ने, आँखा र घाँटी पोल्ने तथा अत्यधिक थकाइ लाग्ने जस्ता लक्षण भएका बिरामी बढेका अल्का अस्पताल पुल्चोककी फिजिसियन डा. रक्षा गौतमले बताउनुभयो । प्रदूषणका कारण मस्तिष्कघात र हृदयघातको जोखिम बढ्न सक्ने भन्दै डा. गौतमले प्रदूषण बढेको बेला बिहान नहिँड्न सुझाव दिनुभएको छ ।
बिहानको समयमा प्रदूषणका कणहरू जमिनको सतह नजिक थुप्रिएर बस्ने र जाडोले रगतका धमनी खुम्चिएका हुने भएकाले मस्तिष्कघात र हृदयघातको जोखिम बढ्ने उहाँको तर्क छ । बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीहरू उच्च जोखिममा रहेको भन्दै डा. गाैतमले अत्यावश्यकबाहेक घरभित्रै बस्न र मास्कको प्रयोग गर्न सुझाव दिनुभएको छ ।
पछिल्ला केही हप्तादेखि काठमाण्डाै उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १५० भन्दा माथि छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यू) का अनुसार एक्यूआई १५० भन्दा माथि पुगेपछि सबैका लागि अस्वस्थ मानिन्छ ।











