काठमाण्डाै । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि बेलुका ५ बजे बस्ने गरी बैठक आह्वान भएकाे हो ।
गएको चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलो पटक संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने लगायतका विषयमा निर्णय हुनेछ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ । त्यस्तै निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा पनि पदाधिकारी रिक्त रहेकाले बैठकबाट नयाँ नियुक्ति गरिनेछ ।
यसअघि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय लिन सक्ने व्यवस्था गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख र विपक्षी दलको नेता सदस्य रहन्छन् ।
संवैधानिक पदहरूमा नियुक्तिका लागि परिषद्ले सिफारिश गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ ।










