मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो नेपाली सेना

काठमाण्डौ । विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।

सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सङ्घीय, प्रदेश तथा पालिका तथा अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएको छ ।

नेपाली सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेका गण तथा गुल्महरूमा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । साथै, प्रदेशका सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ ।

यसबाट बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको सेनाले जनाएको छ । दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाण्डौबाहेक सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर ‘स्ट्यान्ड बाइ’ अवस्थामा राखिएको छ ।

मनसुन शुरु भएसँगै सातै प्रदेशमा परिचालन गर्न सकिने गरी अन्य हवाई साधनहरू काठमाण्डौमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ । मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधन उपयुक्त ठाउँमा पूर्वतैनाथ गर्ने योजना पनि सेनाले बनाएको छ ।

बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न ठाउँमा ‘बेलीब्रिज’ तयारी अवस्थामा राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक–एक सेट बेलीब्रिज राखिएको सेनाले जनाएको छ ।

त्यसै गरी, गाडीमार्फत सजिलै आवश्यक ठाउँमा पुर्‍याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुल गौचरको ब्यारेकमा तयारी अवस्थामा राखिएका छन् । विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई पनि गौचर ब्यारेक, काठमाण्डौमा तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ ।

प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्रीको व्यवस्थापन गरिएको छ । आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ र अपरेटरसहितका साधन तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

यसले पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतजस्ता कार्यमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

विगतका मनसुनजन्य विपद्बाट सिकिएका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सहभागी गराएर तयारीलाई थप प्रभावकारी बनाइएको सेनाको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search