भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ । व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौँ युवाहरूलाई आकर्षित गरिरहेको छ । सीजेपीले आफ्नो पार्टीमा एक लाख जनाभन्दा धेरै सदस्य बनिसकेका दाबी गरेको छ ।
सीजेपीलाई सामाजिक सञ्जालमा पछ्याउने लहर चलेको छ । स्थापना भएको ५ दिनमै कक्रोच जनता पार्टी (सीजेपी) ले विश्वकै ठूलो भनिएको भारतीय जनता पार्टी (भाजपा) लाई इन्स्टाग्राममा फलोअर्सको सङ्ख्यामा उछिनेको छ । सत्तारूढ भाजपाको ८७ लाख फलोअर्स रहँदा सीजेपीले यो समाचार तयार पार्दासम्म १ करोड ३१ लाखभन्दा धेरै फलोअर्स बनाइसकेको छ ।
यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका ३० वर्षीय विद्यार्थी अभिजीत दिपके हुन् । भारतीय प्रधानन्यायाधीश सूर्यकान्तको अभिव्यक्तिपछि कक्रोच जनता पार्टी (सीजेपी) को चर्चा भइरहेको हो ।
गएको मे १५ मा अदालतको सुनुवाइका क्रममा सूर्यकान्तले बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात् साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो । यो अभिव्यक्तिले सामाजिक सञ्जालमा आक्रोश फैलिन थालेपछि ३० वर्षीय अभिजितले ‘यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला ?’ भनेर गरेको ठट्टाले मे १६ मा कक्रोच जनता पार्टीको रूप लिएको हो ।
युवाहरूका लागि स्थापना भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नामक नयाँ राजनीतिक मञ्चले बेरोजगार, अनलाइन सक्रियता र व्यवस्थाबाट निराश युवालाई लक्षित गरेको छ । सामाजिक सञ्जालमा ‘म पनि साङ्लो’ भन्ने ह्याशट्यागले ट्रेन्ड गरिरहेको छ ।
पार्टीले ५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै महिला आरक्षण बढाउनुपर्ने, प्रेस स्वतन्त्रा हुनुपर्ने, न्यायाधीशको राजनीतिक नियुक्ति हुन नहुने लगायतका माग पनि राखेको छ ।
यसैबीच केहीले यो अभियानलाई नेपाल र बङ्गलादेशमा भएका आन्दोलनसँग तुलना गर्न थालेका छन् । तर संस्थापक अभिजीतले भारतीय युवाहरू परिपक्व र सचेत रहेका भन्दै नेपाल र बङ्गलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह गर्नुभएको छ । आफूहरूले शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै असन्तुष्टि व्यक्त गर्ने उहाँको भनाइ छ ।











