काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७२ लाखभन्दा धेरै नागरिकलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको जनाएको छ । दक्षिण सुडानका लागि डब्लुएफपीका ‘कन्ट्री डाइरेक्टर’ मुटिन्ता चिमुकाले ७२ लाख नागरिकलाई तत्काल खाद्य सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । स्थिति गम्भीर रहेको र सहयोग आवश्यकता भएका मानिसको जीवन बचाउन तत्काल ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले गएको महिना पूर्वी अफ्रिकी देश पूर्ण रूपमा भोकमरीको खतरामा पर्ने चेतावनी दिनुभएको थियो ।
दक्षिण सुडानले सन् २०११ मा सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो तर केही समयपछि नै गृहयुद्धमा फसेको थियो । त्यहाँ चरम गरिबीसँगै भ्रष्टाचार र असुरक्षा बढ्दो छ ।











