रुकुमपूर्व । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद् रिमा विश्वकर्माले नेपालको राजनीतिक इतिहास बुझ्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् । भूमे गाउँपालिकामा आयोजित कर्मचारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रुकुमपूर्वलाई राजनीतिक चेतना र परिवर्तनको केन्द्रका रूपमा उल्लेख गरिन् । ‘देशमा जुनसुकै दलका नेता तथा कार्यकर्ताले पनि रुकुमपूर्वको इतिहास बुझ्न आवश्यक छ’, उनले भनिन्, ‘राजनीति सिक्न पनि यहाँ आउनुपर्छ।’
तत्कालीन माओवादी जनयुद्धको आधार क्षेत्रका रूपमा परिचित रुकुमपूर्वले मुलुकको राजनीतिक दिशालाई प्रभाव पार्ने अनेक घटनाको साक्षी बनेको थियो। दशक लामो सशस्त्र द्वन्द्वका क्रममा रुकुम र रोल्पा क्षेत्र माओवादी आन्दोलनको केन्द्र बनेका थिए ।
यही भूगोलबाट उठेको विद्रोह अन्ततः शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन, संघीयता र गणतन्त्र स्थापनासम्म पुग्यो । राजनीतिक परिवर्तनका ती अध्यायमा रुकुमपूर्वको नाम बारम्बार जोडिने गरेको छ । यसै सन्दर्भलाई लिएर सांसद रिमाले रुकुमलाई राजनीति सिकाउने थलोका रुपमा चित्रण गरेकी हुन् ।
तर, राजनीतिक आन्दोलनको केन्द्र बनेको यो जिल्ला विकासका दृष्टिले भने अझै पछाडि छ । भौगोलिक विकटताका कारणले यहाँ सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधारका क्षेत्रमा अपेक्षित उपलब्धि नभएको गुनासो स्थानीयवासीले गर्दै आएका छन् ।
सांसद् विश्वकर्माले कार्यक्रममा जनताका गुनासा सुन्न र स्थानीय तहको अवस्था बुझ्न आफू रुकुमपूर्व आएको बताइन् । उनले स्थानीय सरकार र कर्मचारीसँग सेवा प्रवाह तथा विकास निर्माणका विषयमा छलफल गरेकी हुन् ।











