वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड

काठमाण्डौ । सडक विभागले वातावरणमैत्री र हरित सडक निर्माणमा जोड दिएको छ । विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

विश्व वातावरण दिवसको अवसरमा आज काठमाण्डौमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डा. विजय जैसीले विभागको जिम्मेवारी सडक निर्माणमा मात्र सिमित नरही जलवायु अनुकूलन अर्थात् (क्लाइमेट रेजिलेन्स) र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो ।

सडकका वरपर हरियाली प्रवर्द्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) जस्ता दातृ निकायले पनि हरित सडकको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो ।

महानिर्देशक जैसीकाअनुसार काठमाण्डौ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरणमैत्री सडक निर्माण र हरियाली प्रवद्र्धनका कार्यक्रमहरू विस्तार गरिनेछ ।

सडक डिभिजन काठमाण्डौका प्रमुख एवम् सिनियर डिभिजन इन्जिनियर सुवोधकुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । आज मात्रै काठमाण्डौका सडकमा झन्डै २ सय वटा बिरुवा रोपिएका छन् । आज विश्व वातावरण दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search