काठमाण्डौ । स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढेको छ । गएको आर्थिक वर्ष २०८२/०८३ मा झण्डै ४९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन र २४ करोड रुपैयाँको स्मार्टवाच आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन आयात भएको हो ।
अघिल्लो आर्थिक वर्षमा ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको २१ लाख ८४ हजार ६९४ थान फोन आयात भएको थियो । स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले ९ अर्ब ८ करोड २३ लाख ९७ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ राजस्व आम्दानी भएको थियो ।
विभागका अनुसार सबैभन्दा बढी स्मार्टफोन चीनबाट आयात हुन्छ । गएको आर्थिक वर्षमा चीनबाट ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँको १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन आयात भएको छ ।
यस्तै भारतबाट १० अर्ब ९९ करोड रुपैयाँको ३ लाख ६४ हजार ८४२ थान स्मार्टफोन आयात भएको छ ।











