काठमाण्डौ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले खुलापत्रमार्फत प्रत्यक्ष वार्ताको आह्वान गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको जवाफ दिनुभएको छ । जेलेन्स्कीले दुई देशबीचको युद्ध अन्त्य गर्ने विषयमा प्रत्यक्ष वार्ताको अनुरोध गरेपछि रुसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई भेट्नुको कुनै अर्थ नदेखेको बताएको बीबीसीले जनाएको छ ।
जेलेन्स्कीले पुटिनलाई खुलापत्रमार्फत युद्ध अन्त्यका लागि अमेरिकालाई पर्खनु गलत हुने उल्लेख गर्नुभएको छ । तर रुसी राष्ट्रपति पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसअघिको छलफलमा भएका प्रस्तावलाई नै आधार मान्नुपर्ने बताउनुभयो ।
यसैमा किएभले केही ‘सम्झौता’ गर्नुपर्नेमा उहाँको जोड छ । रुसी सेनाले झण्डै दुई हजार ४ सय ४० वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भागमा पकड कायम गरेको र विभिन्न मोर्चामा अघि बढिरहेको पुटिनले दाबी गर्नुभएको छ ।
पुटिनले युरोपेली सङ्घ (ईयू) को मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।











