काठमाण्डाै । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक तथ्याङ्कअनुसार २०८१ सालमा २ हजार ६०० जनाको शल्यक्रिया भएकोमा २०८२ सालमा यो सङ्ख्या ३ हजार पुगेको छ । यो तथ्याङ्क नेपालभरका २० भन्दा धेरै न्युरो केन्द्रको अध्ययनमा आधारित हो ।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामीमध्ये सबैभन्दा धेरै ३० देखि ५० वर्ष उमेर समूहका छन् । उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो ।
स्टेज १ र २ मा शल्यक्रियामार्फत उपचार सम्भव हुने भए पनि स्टेज ३ र ४ मा शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ । निरन्तर टाउको दुख्नु, बिहान उठ्नासाथ वान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन् ।
वीर अस्पतालले दुई वर्षदेखि प्रदान गर्दै आएको निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जुन महिनासम्म उपलब्ध रहने डा. झाले जानकारी दिनुभयो ।
विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा ’प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने रहेको छ ।










