भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ ।
सन् २०१४ मे २६ मा प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज ४ हजार ३९९ दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्रीका रूपमा उहाँको यो लगातार तेस्रो कार्यकाल हो । यसअघि यो कीर्तिमान पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुका नाममा थियो । उहाँ ४ हजार ३९८ दिनसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो ।
यसैबीच सबैभन्दा लामो समय निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनु भएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मोदीको उपलब्धिलाई ऐतिहासिक कोशेढुङ्गा भन्दै सामाजिक सञ्जाल एक्समार्फत बधाई दिनुभएको छ ।
यस्तै श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मलेशियका प्रधानमन्त्री अनवर इब्राहिम, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरलगायतले मोदीलाई बधाई दिएका छन् ।











