काठमाण्डाै । सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन भनेको हो ।
केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीहरूका व्यक्तिगत विवरण शैक्षिक परामर्श दातृ संस्था, ट्युशन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख थियो ।
केन्द्रका निर्देशक नीलकण्ठ ढकालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा विद्यार्थीहरूको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण र अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको भनिएको छ ।
केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई समेत परिपत्र पठाएको जनाएको छ ।











