काठमाण्डौ । जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा दुई जना अमेरिकी सैनिकको ज्यान गएको छ । एक जना सैनिकको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ । आक्रमणबाट चार जना सैनिक घाइते भएका छन् । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार आठौँ रात हवाई आक्रमण गरेको छ ।
ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सलाई जवाफ दिन केन्द्रित थिए । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिका युद्धविराम सम्झौता उल्लङ्घन गर्दै द्वन्द्वलाई थप चर्काउने प्रयासमा लागेको आरोप लगाउनु भएको छ ।
जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका १० वटा मिसाइल खसालिएको जनाएको छ । यससँगै इरान–अमेरिका युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ । अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै विशेष गरी त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र जुनसुकै बेला थप तनाव बढ्न सक्ने चेतावनी दिएको छ । पछिल्ला केही हप्तायता अमेरिका र इरानबीचको युद्धविराम प्रयास असफल बनेपछि दुवै पक्षबीच सैन्य गतिविधि तीव्र भएका छन् ।











