काठमाण्डाै । स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन् ।नेपाल चिकित्सक सङ्घले दोषीमाथि कानूनी कारबाहीको माग गर्दै बहिरङ्ग (ओपीडी) लगायतका नियमित सेवा बन्द गरेपछि हजारौँ बिरामी उपचार सेवाबाट वञ्चित भएका छन् ।
चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कडा कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ । गएकाे शनिवार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । आक्रमणबाट डा. रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको सङ्घले जनाएको छ ।
याे घटनापछि दोषीलाई पक्राउ गरी कानूनअनुसार कारबाही गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ । मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो ।











