बेबी पाउडरसम्बन्धी मुद्दामा झन्डै साढे ८ खर्ब रुपैयाँ तिर्ने अमेरिकी औषधि कम्पनीकाे प्रस्ताव

अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एन्ड जोनसनले बेबी पाउडरसम्बन्धी मुद्दामा ५ अर्ब ५ कराेड डलर अर्थात् ८ खर्ब ४५ अर्ब रुपैयाँ तिर्ने प्रस्ताव गरेकाे छ । आफ्ना ट्याल्कमयुक्त बेबी पाउडर र अन्य उत्पादनले डिम्बाशयको क्यान्सर गराएको आरोपमा दायर भएका झन्डै ६९ हजार वटा मुद्दा टुङ्ग्याउन कम्पनीले याे रकम प्रस्ताव गरेकाे बीबीसीले जनाएकाे छ ।

यद्यपि यो सम्झौता अन्तिमरूपमा लागू हुनका लागि मुद्दा दायर गरेका ९५ प्रतिशत दाबीकर्ताले स्वीकृति दिनुपर्नेछ । ट्याल्कम एक नरम खनिज हो जसको प्रयोग लामो समयदेखि जाेनसन एन्ड जाेनसनका बेबी पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा हुँदै आएको थियो । तर यसले क्यान्सरको जोखिम बढाउन सक्ने चिन्तापछि यसको प्रयोग क्रमशः घट्दै गएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सन् २०२४ मा ट्याल्कमलाई ‘मानिसका लागि सम्भावितरूपमा क्यान्सर गराउने पदार्थ’ को सूचीमा समावेश गरेको थियो । यद्यपि जोन्सन एन्ड जोन्सनले भने ट्याल्कमले क्यान्सर गराउने कुनै वैज्ञानिक प्रमाण नभएको दाबी गर्दै आएको छ ।

कम्पनीले अमेरिकामा सन् २०२० देखि र विश्वभर सन् २०२३ देखि ट्याल्कमयुक्त बेबी पाउडरको बिक्री बन्द गरिसकेको छ ।

यसअघि सन् २०१६ मा अमेरिकी जुरीले ओभेरियन क्यान्सरका कारण ज्यान गुमाएकी एक महिलाको परिवारलाई ठूलो रकम क्षतिपूर्ति दिन कम्पनीलाई आदेश दिएको थियो । यद्यपि याे फैसला पछि उल्टाइए पनि कम्पनीविरुद्ध ट्याल्कमसम्बन्धी मुद्दा भने निरन्तर बढ्दै गएका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search