अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । पिताको निधनपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेस्सीले भनेका छन, ‘बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ ।’
फेरि कहिल्यै बुबालाई देख्न र कुरा गर्न नपाउने कुरा सोच्दा निकै गाह्रो भइरहेको उनले बताएका छन् । उनले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन् । मेस्सीले भनेका छन्, ‘आफूले जीवनभर फुटबल खेलेपनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन ।’
मेस्सीले यस क्रममा पछिल्लो विश्वकपका भावनात्मक क्षण पनि सम्झिएका छन् । विश्वकप शुरु हुनुभन्दा केही दिनअघि उनका पिताको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । पिता जर्जले मेस्सीलाई आफ्नो अन्तिम विश्वकप खेल्न आग्रह गरेका थिए ।
पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू फाइनलसम्म पुग्ने र त्यसपछि पितालाई खेल हेर्न ल्याउने आशा मेस्सीले गरेका थिए । अर्जेन्टिना फाइनलसम्म पुग्यो । तर जर्ज मेस्सी मैदानमा पुगेर छोराको खेल हेर्न सकेनन् । मेस्सीले विश्वकप जितेर त्यो सफलता पितालाई समर्पण गर्ने ठूलो इच्छा रहेको बताएका छन् । जर्ज मेस्सी केवल मेस्सीका पिता मात्र थिएनन् ।
उनी उनका साथी र गुरु पनि थिए । पिताको निधनपछि मेस्सीले दिएको यो भावुक अभिव्यक्तिले उनको व्यक्तिगत जीवनसँगै अबको फुटबल करियरलाई लिएर पनि विभिन्न अनुमान भइरहेका छन् ।











