इन्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ४७ पुग्यो

इन्डोनेसियाको फ्लोरेस द्वीपमा हिजो बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प मा परी ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ । भूकम्पका कारण सयौँ भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार गरिरहेका बीबीसीले जनाएको छ । इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार स्थानीय समयअनुसार बिहान ५ बज्नु केही अघि गएको भूकम्पको केन्द्र १५ किलोमिटर गहिराइमा थियो ।

भूकम्पपछि दर्जनौँ परकम्प आएका छन् । सबैभन्दा बढी प्रभावित मङ्गराई क्षेत्रमा २४ जनाको ज्यान गएको छ । पूर्वी मङ्गराईमा १७, सिक्कामा तीन तथा नगाडा, एन्डे र पश्चिम मङ्गराईमा कम्तीमा एक–एक जनाको ज्यान गएको त्यहाँको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

घटनामा १३ जना घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार १५० भन्दा धेरै घरमा क्षति पुगेको छ । विद्यालय, स्वास्थ्य संस्था, धार्मिकस्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि क्षति पुगेको छ ।

पहाडी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही गाउँसम्म पुग्ने बाटो अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने अधिकारीहरूले बताएका छन् । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि झण्डै दुई हजार मानिस सुरक्षित ठाउँ तर्फ सरेका छन् ।

यसैबीच, इन्डोनेसियाको अर्को क्षेत्रमा ६.९ म्याग्निच्युडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहत प्रयास थप चुनौतीपूर्ण बनेको छ । तीन प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इन्डोनेसिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि अत्यन्त संवेदनशील देश मानिन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search