भर्खरै रिहा भएका २ भूटानी राजनीतिक बन्दीलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाण्डाै । भर्खरै रिहा भएका पूर्वभूटानी राजनीतिक बन्दीहरू चतुरमान तामाङ र हस्तबहादुर राईलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) को कोष सङ्कलन अभियानमार्फत सङ्कलित आर्थिक सहायता झापाको बेलडाँडी शरणार्र्थी शिविरमा आयोजित एक समारोहबीच तामाङ र राईलाई हस्तान्तरण गरिएको हो ।

जुलाई २०२६ मा सञ्चालित कोष सङ्कलन अभियानमा ३३ जना दाताबाट १ हजार ४९२ युरो अर्थात् २ लाख ६३ हजार रुपैयाँभन्दा धेरै सङ्कलन भएको थियो । यसमा विभिन्न शुल्क कट्टा गरेपछि १ हजार ४२०.२० युरो अर्थात् २ लाख ४३ हजार ८०९ रुपैयाँ ५७ पैसा बाँकी रहेको थियो। यो रकम २ जनालाई बराबर बाँडिएको हो ।

तामाङ १७ फेब्रुअरी २००८ र राई १८ फेब्रुअरी २००८ मा भूटानमा गिरफ्तार हुनुभएको थियो । भूटानमा १८ वर्षभन्दा धेरै जेल जीवन बिताएपछि १ जुन २०२६ मा रिहा नहुञ्जेलसम्म दुवै जनालाई चामगाङ केन्द्रीय कारागारमा राखिएको थियो ।

रिहाइपछि दुवै जना अत्यन्तै सीमित स्रोतसाधनका साथ बेलडाँगी फर्किनुभएको छ र अब उहाँहरूका अगाडि जीवन पुनर्निर्माण गर्ने कठिन चुनौती छ । यो आर्थिक सहायताले उहाँहरूलाई शिविरमा पुनर्स्थापित हुँदै गर्दा तत्कालका आवश्यकताहरू पूरा गर्न मद्दत पुग्ने विश्वास छ ।

भूटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि अभियान चलाउन सन् २०१९ मा गठन भएको जीसीआरपीपीबीले अझै पनि जेलमा रहेकाहरूलाई सुरक्षित र छिटो रिहाइका लागि निरन्तर आवाज उठाउँदै आएको छ । भूटानका विभिन्न कारागारमा अझै २८ जना राजनीतिक बन्दी रहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search