मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा मकालु गाउँपालिकाले मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन गर्ने भएको छ । फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दक्षिण एसियाका विभिन्न मुलुकबाट साहित्यकार र कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराइएको हो ।
गत वर्षबाट मकालुले मकालु महोत्सव गर्दै आएको स्मरण गर्दै यो कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्न गाउँपालिका उपाध्यक्ष मनकला राईले आग्रह गर्नु भयो । मकालु महोत्सव हुँदै गर्दा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने वडा नं. २ का अध्यक्ष छोपाल शेर्पाले विश्वास व्यक्त गर्नु भयो ।
मकालु साहित्य समाजको संयोजनमा आयोजना हुने महोत्सवले मकालुको मात्र नभई संखुवासभाको पर्यटन, सांस्कृतिक साथै साहित्यिक क्षेत्रमा टेवा पुग्ने तारा बहादुर बुढाथोकीले बताउनु भयो ।
महोत्सवको अवसरमा अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार, द्धितीय हुनेले १ लाख २५ हजार, तृतीय हुनेले ६० हजार र सान्त्वना हुनेले ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले ३ हजार ५ सय साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट लिबेरो, वेष्ट सरबर र वेष्ट डिफेन्सले जनही २ हजार ५ सय साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।
फागुन १२ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ भने २ हजार ५ सय टिम दर्ता शुल्क रहेको खेल संयोजक मिलन पोख्रेलले बताउनु भयो ।
यस्तै महोत्सव कै अवसरमा वडागत स्टलहरु राखिने भएको छ । मकालु गाउँपालिका भित्रका वडाहरुमा उत्पादन भएका कृषिजन्य उत्पादन तथा हस्तकला सम्बन्धी सामाग्रीहरुको आ–आफ्नै स्टल व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष मनकला राईले बताउनु भयो ।
वडागत स्टलहरुमा वडा नं. १ बाट भिर माहुरीको मह, सिमल तरुल, मकै, भटमास, आलु आदिको स्टल राखिने छ । वडा नं. २ बाट मुर्ति, अलैँची, यार्सागुम्बा र अन्य जडिबुटि राखिनेछ । त्यसैगरि वडा न.ं ३ बाट राडिपाखी, सेतो चामल, दाल जस्ता कृषिजन्य सामाग्रीहरुको व्यवस्था मिलाईने छ । वडा नं. ४ बाट छुर्पि, लप्सिको अचार, खुकुरी, चौरीको पुच्छर ऊन आदिको स्टल राखिने छ । यसैगरि वडा नं. ५ बाट राडिपाखी, ताकमारु चामल, अल्लो र ऊनको स्टल राखिने भएको छ । वडा नं. ६ बाट सिमल तरुल र फलफुलका अन्य सामाग्रीहरुको स्टल राखिनेछ ।
महोत्सवका अवसरमा भलिबल प्रतियोगिता, मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरु, साँस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ । कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहनेछ । लोक दोहोरी गायक राजु परियार, आशा विसी, गिता योञ्जन, फुलन्देकी आमा (उमेश राई) लगायत स्थानीय कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
गत वर्ष पनि गाउँपालिकाको आयोजना तथा द नर्थ वरुण युथ क्लवको संयोजनमा महोत्सव सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने संस्था र व्यक्तिहरु, हिमाल आरोहीहरुलाई सम्मान गरिएको थियो ।