खाँदबारी । संखुवासभाको पहिलो सामुदायिक रेडियो खाँदबारी एफ.एम. १०५.८ मेगाहर्जको १७ औँ साधारण सभा सम्पन्न भएको छ । मंगलबार (आज) जिल्ला समन्वय समितिको हलमा अधिवेशन सम्पन्न भएको हो । खाँदबारी बचत तथा रिण सहकारी संस्थाद्धारा सञ्चालनमा ल्याइएको खाँदबारी एफ.एम.ले २०६३ कार्तिक देखि परिक्षण प्रशारण सुरु गरेको थियो । संखुवासभा जिल्लासहित भोजपुर, धनकुटा र तेह्रथुम लगायतका जिल्लाहरुमा करिब २ लाख श्रोता रहेको छ ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का अध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष सरोज कुमार बज्रचार्यको अध्यक्षतामा सभा सञ्चालन गरिएको थियो । प्रतिवेदन प्रस्तुतका क्रममा तीन सय बढी सेयर सदस्यहरुको सहयोगमा सञ्चालन गरिएको एफ.एम.को विभिन्न उपकरणसहित आफ्नै भवन भइसकेको भएपनि हाल नियमित सञ्चालनमा समस्या भएको अध्यक्ष बज्रचार्यले बताउनु भयो ।
अकोराबका अध्यक्ष गिरीले लोकतन्त्र स्थापना गर्न र २०७२ को महाभुकम्पमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । जनतालाई सुशुचित गर्ने मुख्य माध्यम रेडियो धारासयी बन्दै गएकोमा दुख व्यक्त गर्नुभयो । साथै आगामी दिनमा सामुदायिक रेडियोहरुलाई प्रविधिमैत्री बनाउन अकोराबले भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष युवराज शाक्य र रेडियोको भवन निर्माण गर्न महत्वपुर्ण योगदान गर्नु भएका श्यामसुन्दर उदासलाई सम्मान पत्रद्घारा सम्मान गरिएको छ । यसैगरी रेडियोलाई विभिन्न तवरबाट सहयोेग गर्न भएका तथा रेडियोका पुर्व कर्मचारीहरु जयन्द्र शाक्य, नवीन दाहाल, गायक उमंग लामा, नृत्य प्रशिक्षक साजन राई लगायतलाई सम्मान पत्रद्घारा सम्मान गरिएको हो ।
साधारण सभाको कार्यक्रम सम्पन्न भएसंगै बन्दसत्र सुरु भएको छ । बन्दसत्र सकिए पश्चात नयाँ समिति चयन गरिने स्टेशन म्यानेजर कृष्णराज शाक्यले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला प्रहरी कार्यालय प्रमुख दक्ष कुमार वस्नेत, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।