काठमाण्डौ । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष र पूर्व वडाअध्यक्ष पक्राउपछि सुरक्षा सतर्कता बढाइएको छ । महायज्ञको नाममा घर भत्काइएको परिवारमा सुरक्षा चुनौतीपछि थप व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सुरक्षाका लागि दीपक मल्लिक डोमको परिवारलाई आवश्यक व्यवस्थासहित सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलीप यादव पक्राउ परेका हुन् ।
औरही गाउँपालिका–५ मा महायज्ञ लगाउने ठाउँमा दीपकको घर भत्काएको थियो । त्यहाँबाट दुई फिट माटो समेत फालिएको थियो । दलित परिवारलाई बस्नको लागि अलग्गै टहरो बनाइएको थियो । घटना सार्वजनिक भएपछि हिजो सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दहाललाई गृहमन्त्रालय तानिएको छ ।