काठमाण्डौ । प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न अपील गरेको छ । काउन्सिलको बोर्ड बैठकले आचासंहिता पालनासँगै प्रेस स्वतन्त्रता सदुपयोग गर्न अपील गरेको हो ।
आवश्यकता अनुसार पत्रकार र सञ्चारमाध्यमलाई यसबारे तालिम, प्रशिक्षण र अभिमुखीकरण गर्ने काउन्सिलले जनाएको छ । बैठकले युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । बैठकले संविधानका प्रावधान विपरीत पत्रकार र सञ्चारमाध्यमप्रति कहीँ कतैबाट हुने प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने निष्कर्ष निकालेको छ ।
लामो समयदेखि संशोधन हुन नसकेका प्रेस काउन्सिल (कार्यव्यवस्था) नियमावली, आर्थिक प्रशासन विनियमावली, प्रेस काउन्सिल कर्मचारी विनियमावली संशोधनका लागि थप पहल गर्ने र काउन्सिललाई अझ बलियो बनाउन सामूहिक धारणा बनाएर संस्थागत रूपमा एकद्वार प्रणालीबाट निर्णयहरू सार्वजनिक गर्ने निर्णय पनि काउन्सिलले गरेको छ ।