प्रत्यक्षमा १२० सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि झन्डै आधा मत

काठमाण्डाै । गएको बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ८ वटामा गणना चलिरहेको छ भने धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समाविष्ट गरेको छैन ।

अन्तिम परिणाम घोषणा भएका १५६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२० सिट जितेको छ । अहिले गणना भइरहेका क्षेत्रमध्ये रास्वपा ५ सिटमा अघि छ । अघिल्लो चुनावमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले यस पटक प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ । गणना भइरहेकामा कांग्रेसकाे कतै पनि अग्रता छैन ।

यस्तै यसअघिको दोस्रो ठूलो दल नेकपा (एमाले) ले यस पटक प्रत्यक्षतर्फ ७ सिट जितेको छ । गणना भइरहेकामा एमाले ३ सिटमा अघि छ । यसअघिको तेस्रो दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एकीकृत समाजवादी) लगायत थुप्रै दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यस पटक प्रत्यक्षमा ७ सिट जितेको छ । गणना भइरहेकामा नेकपाकाे कतै पनि अग्रता छैन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस पटक जुम्लामा मात्रै जितेको छ । गणना भइरहेकामा राप्रपाकाे कतै पनि अग्रता छैन । ४ महिनाअघि खुलेको श्रम संस्कृति पार्टीले यस पटक ३ सिट जितेको छ । गणना भइरहेकामा श्रम संस्कृतिकाे कतै पनि अग्रता छैन । यस्तै म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले जित्नुभएको छ ।

यसैबीच समानुपातिकतर्फको मतगणना पनि चलिरहेको छ । निर्वाचन आयोगले अहिलेसम्म ४७ लाख ८९ हजारभन्दा धेरै समानुपातिक मतगणना भएको जनाएको छ । अहिलेसम्म रास्वपाले झन्डै आधा मत प्राप्त गरेको देखिएको छ । अहिलेसम्म गनिएका मतमध्ये रास्वपाले २३ लाख ६७ हजार, कांग्रेसले ७ लाख ९९ हजार, एमालेले ६ लाख ८२ हजार, राप्रपाले १ लाख ७४ हजार मत ल्याएका छन् ।

समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सिट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ । प्रत्यक्ष मतदानमा कम्तीमा १ सीट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र यो प्रणालीतर्फ सिट पाउँछ । सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ । ३ सिट जितेको श्रम संस्कृति पार्टीको अहिलेसम्म गनिएको मतमा ३ प्रतिशत पुगेको देखिएको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search