काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार बनेकाहरूले चुनावी खर्चको विवरण बुझाउन थालेका छन् । गएको फागुन २१ गते बिहीवार सम्पन्न चुनावमा प्रत्यक्षतर्फका उम्मेदवार तथा समानुपातिकतर्फ राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (५) बमोजिम चुनाव प्रचारप्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्नुपर्छ । पारदर्शिताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगले उम्मेदवारका लागि आचारसंहिता बनाएर लागू गरेको हो ।
आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ ।
प्रत्यक्षतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।
तोकिएको समयभित्र खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित जानकारी नदिने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही हुने भएकाले उनीहरूले त्यस्तो विवरण बुझाउन थालेका छन् । यसअघि कतिपयले खर्च विवरण सार्वजनिकसमेत गरिसकेका छन् ।











