काठमाण्डाै । काठमाण्डाै उपत्यकाका बाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान तीव्र भएको छ ।
शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डाै र काठमाण्डाै महानगरपालिकाको समन्वयमा आज बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको काठमाण्डाैका सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो । ‘कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिरहेकाे छ’, उहाँले भन्नुभयो ।
धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर, विष्णुमती नदी किनारमा रहेकाे काठमाण्डाै महानगरपालिका–१६ बालाजु–माछापोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना खाली गर्ने क्रम चलिरहेको छ । काठमाण्डाैका सहायक सीडीओ रिजालका अनुसार अहिलेसम्म काठमाण्डाै उपत्यकाभित्र झन्डै २ हजार ३०० घरटहरा हटाइएको छ ।
काठमाण्डाै महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवीनगरमा १५/२०, बालाजुमा ३ र तिलगङ्गामा ८९ संरचना आज हटाइँदै छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि गएकाे शनिवारदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुम्वासी बस्ती हटाउने क्रम शुरू भएको हो । शनिवार काठमाण्डाैको थापाथाली, सिनामङ्गल–गैरीगाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो ।
अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’ मा राखिएको छ । त्यहाँ राखिएका भूमिहीन सुकुम्वासीको पहिचान गरी उनीहरूलाई व्यवस्थापन पनि गरिएको छ ।
बस्ती हटाउने क्रममा प्रभावित बनेका परिवारलाई दीर्घकालीन व्यवस्थापन गर्न सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुम्वासीको पहिचान गर्न थालेको छ । मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्ने लगायत काम पनि जारी छ ।











