भारतको आन्ध्र प्रदेश राज्य सरकारले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गरेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुख्यमन्त्री नायडूका अनुसार तेस्रो सन्तान जन्माउने अभिभावकले ३० हजार र चौथो सन्तान जन्मिएमा ४० हजार भारतीय रुपैयाँ प्रोत्साहन रकम पाउनेछन् । यस्तै दोस्रो वा त्योभन्दा धेरै सन्तान जन्माउँदा २५ हजार रुपैयाँ प्रसूति सहायतासमेत दिने मुख्यमन्त्रीको भनाइ छ ।
सरकारले तेस्रो र त्योभन्दा माथिका सन्तानका लागि ५ वर्षसम्म मासिक १ हजार रुपैयाँ पोषण भत्ता र १८ वर्षसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने तयारी पनि गरेको उहाँले बताउनुभयो ।
यस्तै राज्य सरकारले तेस्रो सन्तान जन्मिँदा आमालाई १२ महिना र बाबुलाई २ महिनाको बिदा दिने योजना पनि अघि सारेको छ । राज्यका झन्डै ५८ प्रतिशत परिवारमा १ जनामात्रै सन्तान रहेको पाइएको छ ।
आन्ध्र प्रदेशको प्रजनन दर सन् १९९३ मा ३ रहेको टीएफआर अहिले १ दशमलव ५ मा झरेको छ । मुख्यमन्त्रीले जनसङ्ख्याको सन्तुलन कायम राख्न जन्मदर २ दशमलव १ आवश्यक हुने बताउनुभएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।











