आज पनि पानी पर्ने : तराई र पहाडी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना

काठमाण्डौ । आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । अस्ति बेलुकादेखि शुरु भएको पानी पर्नेक्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव छ । पर्साको ठोरीमा गएराति ठूलो पानी परेको छ । ठोरीमा पछिल्लो १२ घण्टामा एक सय ६९ मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

गएराति मधेश प्रदेशसहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भयो । काठमाण्डौ उपत्यकामा पनि बिहान पानी परेको छ । काठमाण्डौमा अहिले पनि मौसम बदली छ । आज देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई र पहाडी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँ तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search