काठमाण्डौ । सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा उक्त शुल्क वृद्धि गरिएको हो ।
यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ । बजेटमार्फत चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरिएको छ । अन्तःशुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत बराबर पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर लगाउनुपर्ने उल्लेख गर्दै आएको छ । स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरोकारवालाको माग रहँदै आएको थियो ।
यस्तै, घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरमा पनि वृद्धि भएको छ । यसअघि पाँच प्रतिशत पुँजीगत लाभकर लाग्दै आएकामा अब भने सात दशमलव पाँच प्रतिशत कर लाग्नेछ ।
यस्तै विद्युतीय सवारीसाधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ । सुनचाँदी तथा तिनका गरगहना र वस्तुको बिक्री गर्दा सिप प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ ।











