काठमाण्डौ । पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी १ सय ६० संरचना हटाएको छ । यही जेठ १० गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन शुरु गरेको थियो ।
महानगरले फेवाताल संरक्षणसँग जोडिएको फिर्के खोला सफाइ तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ । पोखराको वडा नं १८ को अँधेरी कुनादेखि सुरु भएर वडा नं २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं ६ गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्केखोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।
यसैगरी महानगरले फिर्के खोलाघरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्र आफैँ हटाउन आग्रह गरेको छ । खोलाघर सफाइबाट निस्किएका भग्नावशेष व्यवस्थापनका लागि स्काभेटर, जेसिबी तथा महानगरीय प्रहरी बल परिचालन गरिएको छ ।
महानगरपालिकाले फिर्केखोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै १० दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने काम बन्द गर्न चेतावनी दिएको छ ।
फिर्केखोलामा बढ्दो अतिक्रमण, फोहर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोलाघरका संरचना हटाएको हो ।











