काठमाण्डौ । भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने हुनुभएको छ । उहाँको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच हिजो भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको छ । तर मिति भने टुङ्गो लाग्न बाँकी छ । रास्वपा सभापति लामिछाने भने पर्सि दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ ।
लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा भन्दा बढी समयसम्म भेटवार्ता गर्नुभएको थियो । अस्ति मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग भेटवार्ता भएको थियो ।
लामिछाने फर्किएपछि परराष्ट्रमन्त्री खनाल दिल्ली जाने तयारी भएको हो । परराष्ट्रमन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुनेछ ।











