काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच रहेका सीमालगायत विषयमा वार्ता र कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिने बताउनुभएको छ । भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भारतसँगको सिमानालगायत विषयमा दुई देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिनुभयो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्धमा सोधिएको जिज्ञासामा परराष्ट्रमन्त्री खनालले त्यो भूमि नेपालको रहिआएको ऐतिहासिक अडान दोहोर्याउँदै यसबारेमा भारत र चीनलाई कूटनीतिक नोटमार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो ।
भारतसँगको सिमानाका विषयमा समाधानका लागि नेपाल सरकारले तेस्रो पक्ष वा मध्यस्थताको आवश्यकता नखोजेको बताउँदै उहाँले तथ्य र ऐतिहासिक प्रमाणका आधारमा वार्तामार्फत समाधान खोजिने सरकारको धारणा रहेको बताउनुभयो ।
नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) प्रतिवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री खनालले प्रतिवेदन दुई देशका प्रधानमन्त्रीहरूको सहमतिमा गठन गरिएको समूहले तयार गरेको उल्लेख गर्दै त्यो प्रतिवेदन केबल दुई प्रधानमन्त्रीलाई मात्रै बुझाउन सकिने स्पष्ट पार्नुभयो ।
परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री डा एस जयशङ्करको मैत्रिपूर्ण निमन्त्रणामा भारतको तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली जानुभएको थियो । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले अस्ति शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो ।
वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
वार्ताका क्रममा विभिन्न क्षेत्रमा भएका द्विपक्षीय सहकार्यको प्रगतिको समीक्षा गर्दै नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि एवं तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य बढाउन चालिएका पहलका बारेमा छलफल भएको मन्त्री खनालले बताउनुभयो ।










